काठमाडौं । नेपाल भलिबल संघको कार्यसमितिको पूर्ण बैठक साउन पहिलो साता बस्ने भएको छ ।
संघका महासचिव जितेन्द्रबहादुर चन्दले संघको कार्यसमितिको पूर्ण बैठक साउन ५ गते भक्तपुरमा बस्ने गरि सूचना जारी गरेका छन् ।
भक्तपुर दरबारस्क्वारको ख्वापा छेन रेस्टुरेन्टमा डाकिएको बैठकमा संघका पदाधिकारी, जिल्ला र प्रदेश संघका अध्यक्षलाई डाकिएको छ ।
बैठकको एजेण्डाका विषयमा जानकारी गराईएको छैन । तर, यस बैठकले संघको निर्वाचनको मिति घोषणा गर्ने बताईएको छ ।
कार्यकाल सकिएको करिब दुई वर्ष बितिसक्दा समेत संघको नयाँ निर्वाचन हुन सकेको छैन । १३ औं साग खेलकुद, कोभिड–१९ को प्रकोप र नयाँ ऐनले संघको नयाँ कार्यसमिति आउन नसकेको हो । करिब ६ वर्षअघि निर्वाचित कार्यसमितिलेनै अहिले संघ चलाईरहेको छ ।
संघले आबद्द ७७ जिल्ला र ६ प्रदेशको निर्वाचन भने सकिसकेको छ । विवादको कारण बागमती प्रदेशको निर्वाचन भएको छैन ।
यस अघि संघको पूर्ण बैठक पोखरामा बसेको थियो ।
पोखराको बैठकले असार १० गतेसम्म जिल्ला र प्रदेशको निर्वाचन सक्ने निर्णय गरेको थियो । यस्तै बैठकले निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि समेत तोकेको थियो ।