काठमाडौं । रोयल राष्ट्रव्यापी खेलकुदअन्तर्गत यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा रोयलले टाइम्सलाई ६६–५६ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।
लगातार तीन खेलमा जित आत्मसात गरेको रोयलका निकेश मगरले १६ अंक जोडे । पराजयका बावजुद उपविजेता बन्दै टाइम्स पनि सेमिफाइनलमा पुग्न सफल भयो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा यसअघि नै सेमिफाइनलमा पुगेको कीर्तिपुरले विशाल मिलन केन्द्र (बीएमके) लाई ५९–४३ ले हराउदै समूह ‘बी’ को विजेता भयो । कीर्तिपुरले लगातार चौथो जित निकालेको हो । कीर्तिपुरका आशिष महर्जनले १८ स्कोर गरे ।
गोल्डेनगेटले बलर्स एकेडेमीलाई ७५–४२ ले पन्छायो । गोल्डेनगेटका प्रनित श्रेष्ठले १७ अंक बटुले । अब सेमिफाइनल पुग्ने एक टिमको मात्र टुंगो लाग्न बाँकी छ ।
आइतबार हुने गोल्डेनगेट र बीएमकेबीचको खेलले सेमिफाइनल पुग्ने अन्तिम टिमको टुंगो लाग्ने छ । उक्त खेलमा जित हात पार्ने टिम सेमिफाइनल पुग्ने छ ।