काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहदै बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बिहीबार भएको लिग चरणको अन्तिम खेलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले शीर्ष स्थान हासिल गरेको हो ।
विभागीय डर्बी भिडन्तमा पुलिसले एपीएफमाथि २५-१८, १४-२५, २५-१७ र २५-२० को सेटमा जित निकाल्यो ।
जितसँगै पुलिसले ३ खेलमा ९ अंक जोडेको छ ।
एपीएफ भने दोस्रो स्थानमा रहदै फाइनल प्रवेश गरेको छ । एपीएफले ३ खेलमा ६ अंक जोड्यो ।
अब शनिबार हुने फाइनलमा पुलिस र एपीएफबीच नै प्रतिस्पर्धा हुनेछ ।
चार टोली सहभागी प्रतियोगितामा राउण्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने नियम रहेको छ ।
यस्तै शनिबार नै तेस्रो स्थानको लागि आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र परोपकार आदर्श माविबीच प्रतिस्पर्धा हुनेछ ।
न्यु डायमन्ड तेस्रो र परोपकार चौंथो स्थानमा रह्यो ।
बिहीबार नै न्यु डायमन्डले परोपकारमाथी २५-२२, २५-१० र २५-१४ को सेटमा जित निकालेको थियो ।
प्रतियोगिताको विजेताले ५ लाख लाख नगद प्राप्त गर्दा उपविजेताले २ लाख ५० हजार पाउने छन् । त्यस्तै तेस्रोले १ लाख २५ हजार र चौंथोले ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगद पुरस्कार प्राप्त गर्दा विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।