सागर अधिकारी
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले नेदरल्यान्ड्सको प्रशिक्षणले आफुमा आत्मविश्वास बढेको बताएकी छिन् ।
नेदरल्यान्ड्समा एक महिनाको भलिबल प्रशिक्षण सकेर स्वदेश फर्किएकी कप्तान अरुणाले आफुमा आत्मविश्वास बढेको र यसले राष्ट्रिय टिमका लागि फाईदा पुग्ने बताईन् ।
'पक्कै पनि एस्ले राष्ट्रिय टोलीका लागि सहयोग पुर्याउछ । म मा बढेको आत्मविश्वास राष्ट्रिय टोलीका हरेक सदस्यमा पुर्याउने जिम्मेवारी मेरो हो । यसले गर्दा सबै खेलाडीमा कन्फिडेन्स बढ्छ र सकारात्मक नतिजा आउने छ,' खेलपाटीसँग कुरा गर्दै अरुणाले भनिन् ।
राष्ट्रिय टोलीका सेटर रहेकी अरुणा नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा प्रशिक्षणको मौका पाएकी हुन् । नेदरल्यान्ड्समा उनले सेटरमा केन्द्रित रहेको प्रशिक्षण गरेकी थिइन् ।
कप्तान अरुणाले प्रशिक्षणबाट आफुले धेरै कुरा सिकेको बताईन् । डच टोलीको भलिबल माथिल्लो स्तरमा पुग्नुको कारण थाहा पाएको समेत अरुणाले बताईन् ।
'नयाँ वातावरणमा धेरै नयाँ कुराहरु सिक्ने अवसर मिल्यो । हरेक खेलाडीले पाउने सेवा सुविधा देख्दा त्यहाँको भलिबल माथिल्लो तहमा पुग्नुको कारण थाहा भयो,' अरुणाले भनिन् ।
कप्तान अरुणाले यस्ता अवसर हरेक नेपाली खेलाडीमा पुर्याउन सके नेपाली भलिबल क्षेत्रलाई ठूलो सहयोग पुग्ने बताईन् । यस्ता वैदेशिक प्रशिक्षणलाई नियमित गराउनु पर्ने अरुणाको भनाई छ ।
अरुणाको कप्तानीमा नेपालले लगातार दुई पटक एभिसी एसियन सेन्ट्रल जोनको उपाधि जितेको छ ।
यस्तै, १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत पदक जितेको थियो ।