काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बुधबार जित निकाल्दै पुलिस र एपीएफले लगातार दोस्रो जितसहित फाइनल यात्रा तय गरेको हो ।
लगातार दोस्रो जित निकाल्ने क्रममा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
पुलिसले परोपकारमाथि २५-६, २५-६ र २५-११ को सेटमा जित निकालेको हो ।
जितसँगै पुलिसले २ खेलमा ६ अंक जोडेको छ । पुलिसले पहिलो खेलमा आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई हराएको थियो ।
यस्तै एपीएफले आयोजक न्यू डायमन्डलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
एपीएफले न्यु डायमन्डमाथि २५-१२, २५-२० र २५-१४ को सेटमा जित निकाल्यो ।
यस जितसँगै एपीएफले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा एपीएफले परोपकारलाई हराएको थियो ।
अब बिहीबार हुने पुलिस र एपीएफबीचको खेलले शीर्ष र दोस्रो स्थानमा रहने टोलीको टुंगो लाग्नेछ । शीर्ष दुई टोलीबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
यस्तै शनिबार नै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित एपीएफ क्लब, पुलिस क्लब र परोपकार आदर्श मावि गरी चार टिमको सहभागिता रहेको छ ।
शीर्ष चार स्थान हात पर्ने टिमले क्रमशः ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगद पुरस्कार प्राप्त गर्दा विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।