काठमाडौं । बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले विजयी सुरुआत गरेका छन् ।
कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको हो ।
पुलिसले न्यु डायमन्डमाथि २५-१६, २५-१५ र २५-१५ को सेटमा जित निकालेको हो ।
यस्तै दोस्रो खेलमा एपीएफले परोपकार आदर्श माध्यमिक विद्यालयलाई ३-० को सोझो सेटमा हरायो ।
एपीएफले परोपकार आदर्श माविमाथि २५-११, २५-४ र २५-३ को सेटमा जित निकालेको हो ।
पाँच दिनसम्म चल्ने प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित एपीएफ क्लब, पुलिस क्लब र परोपकार आदर्श मावि गरी चार टिमको सहभागिता रहेको छ ।
राउन्ड रोविनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । तेश्रो र चौथोले तेश्रो स्थानका लागि खेल्ने छन् ।
शीर्ष चार स्थान हात पर्ने टिमले क्रमशः ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगद पुरस्कार प्राप्त गर्दा विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।