पोखरा । विश्व ओलम्पिक डे को अवसर पारेर स्क्वास र्याकेट एशोसियशन कास्कीले पोखरामा पोखरा महानगर स्क्वास प्रतियोगिता आयोजना गरेको छ ।
पोखरा महानगर पालिका खेलकुद विकास समितिको सहयोगमा विहिबारबाट सुरु प्रतियोगिताको गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले उद्घाटन गरेका थिए । मन्त्री गुरुङले एशोसियशन कास्कीका अध्यक्ष पुष्पराज श्रेष्ठलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेका हुन् ।
पोखरा रंगशालामा निर्मित कोर्टमा सञ्चालित सो प्रतियोगितको फाइनल शनिबार हुँदैछ । प्रतियोगितामा कास्कीका २३ जना स्क्वास खेलाडी सहभागी छन् । प्रतियोगिताको दोश्रो दिन पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य स्क्वास कोर्ट मै गएर खेलाडीहरुको हौसला बढाएका थिए ।
ए र बी गरी दुई पोल गरी खेलाइएको प्रतियोगितामा विहीबार पहिलो चरणका खेल भएका थिए भने शुक्रबार क्वाटर फाइनल र सेमिफाइनलका खेलहरु भैरहेका छन् । शनिबार फाइनल प्रतिस्पर्धा हुने स्क्वास र्याकेट एशोसियशन कास्कीका सचिव प्रविण पालिखेले जानकारी दिए ।
प्रतियोगिता उद्घाटन गर्न पुगेका मन्त्री गुरुङले कोर्टको भौतिक पूर्वाधार बनाउनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका थिए । हाल एउटा मात्र कोर्ट रहेकोमा सोही स्थानमा थप २ वटा कोर्ट बनाउने पूर्वाधार तयार छ । नवौं राष्ट्रिय खेल हुनु अघि नै प्रदेश सरकारले बजेट दिएर थप एउटा कोर्ट सम्पन्न गर्ने आश्वासन मन्त्रीले गुरुङले दिएका हुन् ।
त्यस्तै प्रतियोगिताको दोश्रो दिन उपस्थित पोखरा महानगरका प्रमुख आचार्यले विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्न सुझाव दिएका छन् । युवा र विद्यार्थीलाई आर्कषण गरेमात्र खेलाडी उत्पादन हुन सक्छन् भन्दै उनले त्यस्ता प्रतियोगितालाई महानगरले सहयोग गर्ने बताए ।