काठमाडौं । नेपाल भलिबल संघको जिल्ला निर्वाचन अन्तिम चरणमा पुगेको छ ।
केन्द्रिय निर्वाचनको तयारी स्वरुप जिल्ला र प्रदेश निर्वाचनमा होमिएको संघको जिल्ला निर्वाचन अन्तिम चरणमा पुगेको हो ।
संघको पछिल्लो कार्यसमितिको पूर्ण बैठकले असार १० गतेभित्र प्रदेश निर्वाचन सक्ने निर्णय गरेको थियो ।
संघकी उपाध्यक्ष निरोज मास्केले अहिलेसम्म ६४ बढी जिल्लामा निर्वाचन सकिएको जानकारी दिएकी छिन् । उनका अनुसार केही दिनमै जिल्ला निर्वाचनका कार्यक्रम सम्पन्न हुनेछन् ।
मास्केका अनुसार प्रदेश एक, मधेश प्रदेश, गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गतका अधिकांश जिल्लाको निर्वाचन सकिएको छ । जिल्ला निर्वाचन सकिएका प्रदेशमा प्रदेश अधिवेशनको तयारी समेत सुरु भएको छ । बिहिबार मधेश प्रदेशमा प्रदेश स्तरीय अधिवेशन हुँदैछ भने गण्डकीमा शुक्रबार र लुम्बिनीमा शनिबार प्रदेश स्तरीय कार्यसमितिको गठन हुदैछ ।
प्राप्त रिपोर्ट अनुसार बागमतीमा चार जिल्ला, सुदुरपश्चिममा पाँच जिल्ला र कर्णालीका जिल्लामा अधिवेशन हुन बाँकी छ ।
संघका अनुसार जिल्ला र प्रदेश अधिवेशन सम्पन्न भएपछि राखेपसँग अनुमती लिएर केन्द्रित अधिवेशनको मिति तय गरिनेछ ।
देश संघीय संरचनामा गएपछि र राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वनयमा आएपछि भलिबल संघको निर्वाचन हुन सकेको छैन । कोभिड र १३ औं साग खेलकुदका लागि भलिबल संघको निर्वाचन स्थगित हुँदै आएको थियो ।
पछिल्लो समय कानुनी अड्चनका कारण संघको निर्वाचन सम्पन्न गर्न समस्या परेको थियो ।
संघीय संरचना अनुसार संघको संशोधित विधानलाई टेकेर जिल्ला र प्रदेशको अधिवेशन भैरहेका छन् । असार १८ गतेभित्र संघीय ऐन अनुसार प्रदेश र स्थानीय कानुनलाई टेकेर संरचना बनाउनुपर्ने संघलाई चुनौती छ ।