काठमाडौं । त्रिज्योति, बसुन्धारा नेसनल एकेडेमी (बीएनए), निम्स र महामञ्जुश्रीले छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
त्रिज्योति सिनियर ब्वाइज, बीएनए जुनियर ब्वाइज, निम्स सिनियर गर्ल्स र महामञ्जुश्री स्टार्फमा पहिलो भएका हुन् ।
बसुन्धारास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा त्रिज्योतिले ग्रिनल्यान्डलाई २१–१९ ले पराजित गर्यो । जुनियर ब्वाइजको फाइनलमा बीएनएले डिफेन्डिङ च्याम्पियन एन्जल्स हार्टलाई ५–३ ले हरायो । एन्जल्स हार्ट चारपटकको उपाधि विजेता हो ।
सिनियर गर्ल्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन निम्सले एनसीसीएसमाथि ९–८ को कठिन जित दर्ता गर्दै लगातार दोश्रोपटक उपाधि चुम्यो । पहिलो पटक समावेश स्टाफको फाइनलमा महामञ्जुश्रीले इन्साइट भिजनलाई २१–२० को झीनो अन्तरले पाखा लगायो । स्टाफका विजेताले १० हजार र उपाधि विजेताले ५ हजार नगद पुरस्कार हात पारे । बाँकी स्पर्धामा नगद पुरस्कार छैन ।
सिनियर ब्वाइजमा त्रिज्योतिका अन्शुल गोपाली, जुनियर ब्वाइजमा बीएनएका सुयेश गौतम, सिनियर गर्ल्समा निम्सकी टीना लिम्बू र स्टाफमा महामञ्जुश्रीका शैलेश श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, प्याब्सनका केन्द्रीय भूगोल उपाध्यक्ष थकिनकुमार गुरुङ, स्किब्सका प्रिन्सिपल अरुण केसी, टोखा प्याब्सनका अध्यक्ष टंककुमार चापागाईं, बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८–८ तथा गर्ल्समा १२ गरी जम्मा ५२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।