काठमाडौं । आयोजक स्किब्स छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्किब्स समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । स्किब्सले युनिकलाई ५–४, द स्काइलार्कलाई ६–५ र इडेन ब्रिज एकेडेमी (इबीए) लाई ४–२ ले पराजित गर्यो । इबीए पनि उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । सेमिफाइनलमा इबीएको भेट एन्जल्स हार्टसंग हुनेछ भने स्किब्सले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
बसुन्धारास्थित आयोजक स्किब्सकै कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा निम्स ‘ए’, हिमालय, काष्ठमण्डप, निम्स ‘बी’, भ्याली पब्लिक, आर्या, स्किब्स र एनसीसीएसले क्वाटरफाइनलमा स्थान पक्का गरे ।
सिनियर ब्वाइजमा स्किब्स ‘ए’, निम्स ‘बी’, त्रिज्योति, एचएचसीए, बीएनए, सेन्ट जोसेफ, भ्याली पब्लिक, सेब, ओडिसी इन्टरनेसनल एकेडेमी, इबीए, स्काइलार्क, महामञ्जुश्री, निम्स ‘ए’, रेडिअन्ट, ग्रिनल्यान्ड र नेपाल मोडेल प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
प्रतियोगिताको टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र स्किब्सका प्रिन्सिपल अरुण केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।
प्रतियोगितामा सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८–८ तथा गल्र्समा १२ गरी जम्मा ५२ टिमको सहभागिता रहेको स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले जनाएका छन् । स्टाफको विधा पहिलो पटक समावेश गरिएको हो ।
स्टाफतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । बाँकीमा नगद पुरस्कार राखिएको छैन । फाइनल आइतबार हुनेछ ।