काठमाडौं । नेपाल भलिबल संघको कार्यसमितिको पुर्ण बैठक पोखरामा बस्ने भएको छ ।
संघका महासचिव जितेन्द्रबहादुर चन्दले संघको कार्यसमितिको पुर्ण बैठक जेठ २१ गते पोखरामा बस्ने गरि सुचना जारी गरेका छन् ।
कार्यकाल सकिएको करिब दुई वर्ष बितिसक्दा समेत संघको नयाँ निर्वाचन हुन सकेको छैन । १३ औं साग खेलकुद, कोभिड–१९ को प्रकोप र नयाँ ऐनले संघको नयाँ कार्यसमिति आउन नसकेको हो । करिब ६ वर्षअघि निर्वाचित कार्यसमितिलेनै अहिले संघ चलाईरहेको छ । कार्यसमितिको आगामी बैठकमा संघको साधारण सभाको मिति तोक्ने सन्दर्भमा छलफल हुने बताईएको छ ।
यद्धपी महासचिवले जारी गरेको सुचनामा बैठकको एजेण्डाका विषयमा जानकारी गराईएको छैन ।
करिब दुई वर्षपछि संघको पुर्ण बैठक आह्वान गरिएको छ । यसअघि कार्यसम्पादन समितिमार्फत संघको गतिविधि हुदै आएका थिए ।
‘योनै वर्तमान कार्यसमितिको अन्तिम बैठक हुन सक्छ । यसले अधिवेशनको नयाँ मिति तोक्न सक्छ ।’ संघका उपाध्यक्ष याम गुरुङले भने ।
संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा उपचारका लागि भारतमा रहेका बेला कार्यसमितिको पुर्ण बैठक आह्वान गरिएको छ । यसअघिको कार्यसम्पादन समितिको बैठकमा आफु अनुपस्थित रहेको खण्डमा संघको कार्यवहाक उपाध्यक्ष निरोज मास्के हुने अध्यक्ष शर्माले बताएका थिए ।
शर्मा भारतमा रहदाँ कार्यवहाकको जिम्मेवारी कसैलाई दिएका छैनन् । कार्यवहाकको सन्दर्भमा आफुलाई कुनै जानकारी नभएको उपाध्यक्ष याम गुरुङले खेलपाटीलाई बताएका छन् ।
अध्यक्ष र कार्यवहाक नभएको अवस्थामा संघको बैठक कसरी आह्वान गरिएको भन्नेबारे कुनै जानकारी छैन । यसबारे जानकारी लिन खोज्दा महासचिव जितेन्द्रबहादुर चन्दको फोन अफ छ ।