काठमाडौं । टिम रेड र आयोजक मनास्लु प्रथम मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन् ।
टिम रेड ब्वाइज तथा मनास्लु गर्ल्समा पहिलो भए।
ब्वाइज फाइनलमा टिम रेडले ज्ञान टाइगरलाई १३–९ ले पराजित गर्यो । टिम रेडका रोबन तामाङले ६ स्कोर गरे ।
गर्ल्सको उपाधि भिडन्तमा मनास्लुले नयाँ बजारस्थित घरेलु कोर्टमा आईएसलाई १६–१० ले हरायो । विजेताकी विनामणि योञ्जनले ७ स्कोर गरिन् ।
ब्वाइज÷ गर्ल्समा पहिलो हुनेले १० हजार र दोश्रोले ७ हजार नगद पुरस्कार हात पारे । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोबन र विनामणि ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री, मनास्लुका कार्यकारी निर्देशक जेबी दवाडी, मनास्लुकी प्रिन्सिपल सुचिता शाक्य, मनास्लुका अत्तिरिक्त क्रियाकलाप प्रमुख अमृत अधिकारी, रामेछाप जिल्ला बास्केटबल क्लबका अध्यक्ष सुनिल योञ्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दुईदिने प्रतियोगिताको ब्वाइजमा ३५ र गर्ल्समा ५ टिम सहभागी थिए ।