काठमाडौं । नेपाल सोतोकान कराते संघको आयोजनामा भइरहेको १३ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बुधबार सेमिफाइनलमा समीकरण पूरा भएको छ ।
नेपाल, भारत र बंगलादेशका खेलाडी सहभागी प्रतियोगिताको पहिलो दिन मंगलबार नेपाली खेलाडीबीच मात्र प्रतिस्पर्धा भएको थियो । त्यसबाट हरेक तौलसमूहबाट २ खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
दोश्रो दिन बुधबार भारत र बंगलादेशका खेलाडी सम्मिलित प्रतिस्पर्धा भएको थियो । यो प्रतिस्पर्धाबाट पनि हरेक तौलसमूहबाट दुई खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल प्रवेश गर्नेले प्रतियोगिताको अन्तिम दिन बिहीबार प्रतिस्पर्धा गर्ने छन् । बिहीबारै फाइनल पनि हुने छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता मंगलबार सुरु भएपनि औपचारिक उद्घाटन बुधबार भएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी प्रतियोगितामा करिब ६ सय खेलाडीले विभिन्न ४६ स्पर्धामा प्रतिस्पर्धा गरिहेको आयोजक संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।