चिलीको क्लबमा भोजिन्हा

काठमाडौं। केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हा चिलीको प्रतिष्ठित क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्। क्लबका अध्यक्ष आनिबाल मोसाले शुक्रबार भोजिन्हासँग सम्झौता भएको पुष्टि गरेका हुन्।
४० वर्षीय भोजिन्हा केही दिनभित्र चिली पुगेर नियमित स्वास्थ्य परीक्षण (मेडिकल) पूरा गर्नेछन्। त्यसपछि उनलाई कोलो कोलोको घरेलु मैदान एस्टाडियो मोनुमेन्टलमा औपचारिक रूपमा सार्वजनिक गरिने अध्यक्ष मोसाले जानकारी दिए।
‘भोजिन्हा अब कोलो कोलोका खेलाडी हुन्। उनी छिट्टै चिली आउनेछन्, आवश्यक स्वास्थ्य परीक्षण सम्पन्न गर्नेछन् र त्यसपछि एस्टाडियो मोनुमेन्टलमा समर्थकमाझ प्रस्तुत गरिनेछन्,’ मोसाले पत्रकार सम्मेलनमा बताए। उनले यो जानकारी कोलो कोलो र डेपोर्टेस लिमाचेबीच हुने लिग खेलअघि दिएका थिए।
मोसाका अनुसार विश्वकपमा भोजिन्हाले गरेको उत्कृष्ट प्रदर्शनका कारण उनी यो अवसरका पूर्ण हकदार बनेका हुन्। साथै, उनको आगमनले क्लबको व्यावसायिक तथा प्रचार–प्रसार पक्षमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
यद्यपि‚ सम्झौताका केही औपचारिक प्रक्रिया बाँकी छन्। कोलो कोलोले सामाजिक सञ्जालमार्फत भोजिन्हाको परिचित घुम्रिएको कपाल झल्किने तस्बिर सार्वजनिक गर्दै उनको आगमनको संकेत गरिसकेको छ।
भोजिन्हाले विश्वकपअघि पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेस छाडेका थिए। विश्वकपमा प्रतियोगितामा पहिलोपटक सहभागी बनेको केप भर्डेलाई उत्कृष्ट प्रदर्शन गराउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
उनले साबिक विजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्न योगदान दिएका थिए भने उपविजेता अर्जेन्टिनालाई अन्तिम ३२ को खेलमा अतिरिक्त समयमा धकेल्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उत्कृष्ट प्रदर्शनकै आधारमा उनी फिफाको समर्थकद्वारा छनोट गरिएको विश्वकप ‘ड्रिम टिम’मा समेत परेका थिए।












