काठमाडौं । जेभियर इन्टरनेसनलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।
गोदावरी अल्मुनाई एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जेभियरले नयाँ बजार, कीर्तिपुरलाई ३१–२४ ले पराजित गर्यो । जेभियरका लागि भावना केसीले १४ अंक जोडिन् ।
दोश्रो क्वाटरको समाप्तिसम्म जेभियर १२–६ ले पछि थियो । पहिलो क्वाटरमा २–१ को झीनो अग्रता लिएको जेभियर दोश्रोमा ४–११ ले पछि रह्यो । त्यसपछिका लगातार दुई क्वाटर क्रमशः १६–७ र ९–५ ले आफ्नो पक्षमा पार्दै जेभियरले जित पक्का गर्यो।
प्रतियोगिताको जिएएका अध्यक्ष प्रकाशबाबु केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । ४ टिम सहभागी प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा खेलाइने छ । शीर्ष २ टोलीले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
साउनागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।
यस्तै इक्याब मेरिलियोन जिम्नाजियमले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ ।
इक्याबले शंकरदेव क्याम्पसलाई ५२–४५ ले पराजित गर्यो । इक्याबको जितमा परिचितले ११ अंक योगदान गरे ।
साउनागाउँस्थित आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको अन्य खेलमा विशाल मिलन केन्द्र (विएमके), टाइम्स र अन्माइस विजयी भए ।
सोनाम तेन्जिङको १७ अंक सहयोगमा विएमकेले टिम सिंहलाई ६७–४६ ले हरायो । टाइम्सले धरानलाई ७२–५६ ले पन्छायो । टाइम्सका मनीष केसीले २२ स्कोर गरे । अन्माइसले जेभियरलाई ५५–३६ ले निराश पार्यो । अन्माइसका प्रहलाद बस्नेतले २१ अंक जोडे ।