काठमाडौं । छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो ।
विभागीय डर्बीमा आर्मीले पुलिसमाथि २५-१८, २५-२३ र २५-२० को सेटमा जित निकालेको हो।
यस जितसँगै आर्मीले शीर्ष स्थानमा रहदै उपाधि जितेको हो । आर्मी पहिलो पटक च्याम्पियन बनेको हो ।
आर्मीले ४ खेलमा ९ अंक जोडेको छ । पुलिसले पनि ४ खेलमा ९ अंक जोड्यो ।
तर, पहिलो सेट जित्दा प्राप्त अंकको आधारमा आर्मी विजेता शीर्ष स्थानमा रहेको हो ।
उपाधिसँगै आर्मीले नगद ६ लाख प्राप्त गरेको छ ।
उपविजेता पुलिसले ३ लाख प्राप्त गर्दा तेस्रो बनेको एपीएफले १ लाख ५० हजार र चौंथो एभरेस्टले ७५ हजार प्राप्त गरेको छ ।