काठमाडौं । छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता आज शनिबार सकिदैछ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा प्रतियोगिताको अन्तिम दिन आज चार खेलहरु हुँदैछन् । शनिबार महिलातर्फ एक र पुरुषमा तीन खेलहरु हुनेछन् ।
महिलातर्फको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
यस खेलले उपाधि जित्ने टोलीको तय गर्नेछ । आर्मी ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
पुलिस ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अर्को विभागीय टोली एपीएफले ४ खेलमा ९ अंक जोडेको छ।
आर्मीलाई पराजित गरेमा चार खेलबाट १२ अंकका साथ पुलिसले उपाधि उचाल्ने छ भने एपीएफले दोश्रो स्थान प्राप्त गर्ने छ । आर्मी तेश्रो स्थानमा रहने छ ।
यदि आर्मीले पुलिसलाई सोझो सेटमा पराजित गरेमा तीनै विभागिय टोलीको समान ९ अंक हुने भएका कारण उपाधिको टुङ्गो प्राप्त स्कोर अंकका आधारमा हुनेछ । आर्मीले ३–२ को जित निकालेको खण्डमा पुलिसको १०, एपीएफको ९ र आर्मीको ८ अंक हुने छ ।
पुरुषतर्फको पहिलो खेलमा गल्कोट स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस खेल बिहान ८ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल १० बजे सुरु हुनेछ ।
पुरुषतर्फको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ । यस खेल दिउँसो २ बजे सुरु हुनेछ ।
आर्मी र हेल्प नेपालबीचको खेलले उपाधि विजेताको तय हुनेछ ।
आर्मी पाँच खेलमा जित निकाल्दै १५ अंकका साथ शीर्ष स्थानमा रहेको छ । आर्मीलाई हेल्प नेपालले पछ्याईरहेको छ । हेल्प नेपालले पाँच खेलमा १४ अंक जोडेको छ ।
यस खेलमा जित निकाल्ने टोलीले उपाधि जित्नेछ । जित निकालेमा आर्मीको १८ अंक हुनेछ ।
यस्तै हेल्प नेपालले जित निकालेको खण्डमा १७ अंकका साथ उसले उपाधि जित्ने छ । यदि ३–२ को जित निकालेको खण्डमा दुवै टोलीको समान १६ अंक हुने भएकोले हेड टु हेड अथवा प्राप्त स्कोरको आधारमा विजेताको टुङ्गो लाग्नेछ।
विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।
सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार पाउँदा व्यक्तिगत विधा तर्फ उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन् ।