काठमाडौं । हेल्प नेपालले छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा पुरुषतर्फ चौंथो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराएर हेल्पले चौंथो जित निकालेको हो ।
हेल्पले पुलिसमाथि २५-२३,२५-२३ र २५-२३ को सेटमा जित निकालेको हो ।
जितसंगै हेल्प नेपालको ११ अंक भएको छ । यस्तै सेनाको १२ अंक भएको छ ।
पुलिसको यो पहिलो हार हो ।
पुरुषतर्फ नै यस अघि भएको खेलमा गल्कोट स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-२ को सेटमा हराएको थियो।
गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ ले पराजित गरेको हो । जितसंगै गलकोटको २ अंक भएको छ भने ढोरपाटनको १ अंक भएको छ ।
लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ ।
विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।
सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार पाउँदा व्यक्तिगत विधा तर्फ उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन् ।