काठमाडौं । नेपाल पुलिस क्लबले छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिलातर्फ लगातार तेस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सेटमा हराउँदै पुलिसले तेरो जित निकालेको हो ।
पुलिसले न्यु डायमण्डमाथि २५-११,२५-१७ र २५-१५ को सेटमा जित निकाल्यो ।
जितसँगै पुलिसले ३ खेलमा ९ अंक जोडेको छ ।
पुलिस शीर्ष स्थानमा रहेको छ ।
न्यु डायमण्डको यो लगातार तेस्रो हार हो ।
महिलाकै पहिलो खेल एपीएफले एभरेस्ट भलिबल क्लबलाई ३-१ को सेटमा हराएको छ ।
पुरुषतर्फ पहिलो खेलमा अहिले गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
दोस्रो खेलमा हेल्प नेपाल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल २ बजे सुरु हुनेछ ।
पुरुषको तेस्रो खेलमा एपीएफ क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस खेल ४ बजे सुरु हुनेछ।
लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ ।
विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।
सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार पाउँदा व्यक्तिगत विधा तर्फ उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन् ।