काठमाडौं । त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार गल्कोट स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले लगातार तेस्रो जित निकालेको हो ।
लगातार तेस्रो जित निकाल्ने क्रममा आर्मीले गल्कोटमाथि २५-१२, २५-११ र २५-२२ को सेटमा जित निकालेको हो ।
जितसँगै आर्मीले ३ खेलमा ९ अंक जोडेको छ । आर्मी शीर्ष स्थानमा रहेको छ ।
गल्कोटको यो लगातार तेस्रो हार हो ।
यस्तै आज हुने पुरुषतर्फको दोस्रो खेलमा हेल्प नेपाल र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुषको तेस्रो खेलमा नेपाल पुलिस क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल ४ बजे सुरु हुनेछ ।
लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ ।
विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।