काठमाडौं । विभागीय टोली एपीएफ क्लबले छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फ पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएर एपीएफले पहिलो जित निकालेको हो ।
एपीएफले आर्मीमाथि २७-२५,१३-२५,२५-२१ र २५-२३ को सेटमा जित निकालेको हो ।
पहिलो खेलमा एपीएफलाई पुलिसले हराएको थियो । आर्मीले एभरेस्ट भलिबल क्लबलाई हराएको थियो ।
यस अघि एभरेस्ट भलिबल क्लबले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-२ को सेटमा हराएको थियो ।
एभरेस्टले न्यु डायमण्डमाथि २७-२५,१३-२५,२०-२५,२५-२१ र १५-१३ को संघर्षपूर्ण सेटमा जित निकालेको हो ।
यस्तै आज हुने पुरुषतर्फ पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा हेल्प नेपाल र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस खेल २ बजे सुरु हुनेछ ।
पुरुषको तेस्रो खेलमा नेपाल पुलिस क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल ४ बजे सुरु हुनेछ ।
लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ ।
विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।