काठमाडौं । एपीएफ क्लबले छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार गल्कोट स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराउँदै एपीएफले पहिलो जित निकालेको हो ।
एपीएफले गल्कोटमाथि २५-१५, २१-२५, २५-१८, २५-२१ को सेटमा जित निकाल्यो ।
जितसँगै एपीएफले २ खेल ३ अंक जोडेको छ । पहिलो खेलमा एपीएफ आर्मीसँग पराजित भएको थियो ।
गल्कोटको यो लगातार दोस्रो हार हो ।
लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ ।
विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।
सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार पाउँदा व्यक्तिगत विधा तर्फ उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन् ।