काठमाडौं । त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार गण्डकी प्रदेशलाई ३-० को सेटमा हराउँदै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।
आर्मीले गण्डकीमाथि २५-१९, २५-८ र २५-१८ को सेटमा जित निकालेको हो ।
जितसँगै आर्मीले २ खेलमा ६ अंक जोडेको छ । आर्मी शीर्ष स्थानमा रहेको छ ।
यस अघि आइतबार भएको पहिलो खेलमा आर्मीले विभागीय टोली एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो ।
पुरुषतर्फ नै सोमबार हेल्प नेपालले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो ।
आजै हुने पुरुषको तेस्रो खेलमा एपीएफ क्लब र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ ।
विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।
सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार पाउँदा व्यक्तिगत विधा तर्फ उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन् ।