काठमाडौं । बास्केटबल प्रतियोगिता आयोजना गर्न नेपाल बास्केटबल संघ (नेबा) को अनुमति अनिवार्य लिनुपर्ने भएको छ।
नेबाले मंगलबार एक विज्ञप्ति निकाल्दै खुल्लास्तरको बास्केटबल प्रतियोगिता गर्न संघको स्वीकृति लिनुपर्ने जनाएको छ। संघले अनुमतिबिना कुनैपनि फर्म्याटको प्रतियोगिता गर्न नदिने जनाएको छ ।
संघको अनुमति बिना बास्केटबल प्रतियोगिता हुन लागेको सुनिएको र यसले संघको जिम्मेवारी र आधिकारिकतासँगै भुमिकालाई कमजोर बनाउन खोजिएको कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
संघले आफ्ना खेलाडीहरूलाई अनुमति बिनाको प्रतियोगितामा सहभागिता जनाउन नदिने समेत जनाएको छ ।