काठमाडौं । तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबीएल) हुने आगामी जेठबाट सुरु हुने भएको छ ।
नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले आइतबार पत्रकार सम्मेलन गर्दै एनबीएल जेठ ७ बाट सुरु हुने जनाएको छ ।
लिगमा महिला र पुरुष दुवैको स्पर्धा हुनेछ । पुरुषतर्फको लिग जेठ ७ देखि सुरु हुनेछ भने महिलाको जेठ १८ बाट सुरु हुने नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडका उपाध्यक्ष अरूण कार्कीले जानकारी गराए ।
पुरूषतर्फ टाइम्स इन्टरनेशनल, त्रिभुवन आर्मी, गोल्डेन गेट इन्टरनेशनल, रोयल बास्केटबल, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, विशाल मिलन केन्द्र, क्याम्पियन सोलो र कीर्तिपुर बास्केटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ भने नेपाल पुलिस, ललितपुर हाइ, रोयल बास्केटबल, आइएसए नेपालले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ भने एक टोलीको टुंगो लगाउन बाँकी भएको आयोजकले जनाएको छ ।
दुई महिनासम्म संचालन हुने प्रतियोगितामा पुरुषतर्फ ५६ र महिलातर्फ २० लिग खेलहरु हुने छन् ।
प्रतियोगिता लिग राउण्ड रोबिनको आधारमा होम एण्ड अवे गरेर खेलिने छ । शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउने छन् । प्लेअफका खेलहरु असार ३२ बाट सुरु हुने छन् ।
प्लेअफमा पहिलो र दोश्रो स्थान हासिल गर्ने टोलीले 'बेस्ट अफ थ्री'का आधारमा पहिलो क्वालिफायर खेल्नेछन् । जसबाट विजयी टोली सिधै फाइनल प्रवेश गर्नेछन् ।
तेश्रो र चौथो स्थानको टोलीले 'बेस्ट अफ थ्री एलिमिनेटर' खेल्नेछन र विजयी टोलीले पहिलो क्वालिफायरको पराजित टोलीसँग फाइनल प्रवेशका लागि दोश्रो क्वालिफायर खेल्नेछ । दोश्रो क्वालिफायर पनि 'बेस्ट अफ थ्री' कै आधारमा खेलाइनेछ । महिला र पुरूष दुवै तर्फको फाइनलमा भने एक खेल मात्र हुनेछ ।
पुरुषको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने महिलाको विजेताले १ लाख पाउने छन् ।
पुरुषतर्फ दोस्रो हुने टिमले १ लाख र महिला तर्फ दोस्रो हुनेले ५० हजार पाउने छन् ।
हरेक खेलमा महत्वपूर्ण खेलाडीले ३ हजार बराबरको गिफ्ट भौचर प्राप्त गर्ने छन् ।
लिगका उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडीले समान १० हजार बराबरको गिफ भौचर प्राप्त गर्ने छन् ।
एक टोलीमा १४ खेलाडी हुनेछन् । हरेक टोलीमा चार जना विदेशी खेलाडी राख्न पाइनेछ । तर, एकपटकमा दुई जनाले मात्र खेल्न पाउनेछन् ।
एनबीएलका लागि व्यापार परामर्श कम्पनि बी सोलुसन प्राइभेट लिमिटेडले १० लाख बराबरको लजिस्टिक र जनशक्ति प्रदान गर्नेछ ।
वीमा कम्पनि सानिमा जनरल इन्सोरेन्सले सहभागी खेलाडी, प्रशिक्षक, रेफ्री र स्वयमसेवकको ५ लाख बराबरको वीमा गरेको छ ।
अष्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटीले नगद डेढ लाख, एस्ट्रल स्किल्स इनस्टिच्युट अफ अष्ट्रेलियाले १ लाख, एप्स्ली कलेजले १ लाख र भिभिड एजुकेसनले १ लाख बराबरको सहयोग गरेको छ।
यस्तै खेल उत्पादक कम्पनि लीनिङले बास्केटबल खेल सामग्री प्रदान गर्नेछ ।