काठमाडौं । संजय स्मृति राष्ट्रिय स्तरको महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
पाल्पाको रानीमहलमा शनिबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।
फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २-० को सोझो सेटमा पराजित गरेको हो ।
पुलिसले लुम्बिनीलाई पहिलो सेटमा २१-८ र दोस्रो सेटमा २१-१७ ले पराजित गर्यो ।
नेपाल पुलिसका कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो ।
उपाधिसँगै पुलिसले १ लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता लुम्बिनीले ५० हजार, ट्रफी र मेडल प्राप्त गरेको छ ।
सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा २ विभागीय टोली पुलिस, एपीएफ र सात प्रदेशको टोलीको सहभागिता रहेको थियो।
प्रतियोगितामा च्याम्पियन टोली पुलिसकी कमला पुन सर्वोत्कृष्ट खेलाडी बनिन् । कमलाले २० हजार रुपैयाँ प्राप्त गरिन्।
यस्तै आयोजकले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र नेपाल पुलिस क्लबकी प्रशिक्षक कोपिला उप्रेतीलाई नगदबाट सम्मान गरेको छ ।
आयोजक फाउन्डेसनले अरुणा र कोपिलालाई जनही ३० हजार रुपैंयासहित सम्मानित गरेको हो ।