काठमाडौं । ललितपुर महानगरपालिका दोस्रो मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता बैशाख ६ गतेबाट सुरु हुने भएको छ ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजना र ललितपुर महागरपालिकाको मुख्य प्रयोजनमा सञ्चालन हुने प्रतियोगिता बैशाख ६ गतेदेखि १० गतेसम्म सञ्चालन हुने पक्का भएको हो ।
प्रतियोगिताका खेलहरु जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा सञ्चालन हुनेछ ।
महिला र पुरुष गरि दुई स्पर्धामा आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागी हुने टिमले बैशाख ३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ ।
नेपालको भलिबल खेलको विकासमा महत्वपुर्ण योगदान गर्दै आएको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले ललितपुर महानगर पालिकाको सहयोगमा मेयर कप खुल्ला भलिबल प्रतियोगिता आयोजनाको सुरुवात गरेको हो ।