काठमाडौं । संजय स्मृति राष्ट्रिय स्तरको महिला बिच भलिबल प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
पाल्पाको रानीमहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । लुम्बिनीले सुदुरपश्चिममाथि २१-१७ र २१-१४ को सेटमा जित निकालेको हो ।
यस्तै दोस्रो सेमिफाइनलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई २-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा लुम्बिनीसँगको भेट पक्का गर्यो । पुलिसले गण्डकी प्रदेशलाई २१-१९ र २१-९ ले हराएको हो ।
त्यसअघि क्वाटरफाइनलमा लुम्बिनी प्रदेशले विभागीय टोली एपिएफलाई २१-१७ र २१-१३ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
सुदूरपश्चिमले बागमती प्रदेशलाई २१-८ र २१-७ पराजित गर्दा नेपाल पुलिसले प्रदेश एकलाई २१-१ र २१-६ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।
यस्तै गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २-१ को सेटमा पराजित गर्यो । गण्डकीले कर्णालीलाई २१-१२, २१-२३ र १५-८ को सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।
फाइनल खेल शनिबार आयोजना हुनेछ । प्रतियोगिताको विजेताले १ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ५० हजार पाउने छन् ।