काठमाडौं । विभागीय टोली एपीएफ र प्रदेश १ संजय स्मृति राष्ट्रिय स्तरको महिला बिच भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पाल्पाको तानसेनस्थित रानीमहलमा बिहीबार सुरु प्रतियोगितामा समूह 'ए' बाट एपीएफ समूह विजेता र प्रदेश १ उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
एपीएफले दुई खेलमा दुई जित निकाल्यो । उसले पहिलो खेलमा प्रदेश १ लाई २-१ को सेटमा पराजित गर्यो । एपीएफले प्रदेश १ लाई २१-१ १६-२१ १५-५ को सेटमा पराजित गर्यो ।
दोस्रो खेलमा एपीएफले मधेस प्रदेशलाई २१-५ र २१-० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो ।
यसै समूहबाट प्रदेश १ ले उपविजेता बन्ने क्रममा मधेश प्रदेशलाई २१–७ र २१–१६ को सोझो सेटमा हराएको हो ।
समूह 'ए' बाट दुवै खेलमा पराजित भएको मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।
यस्तै समूह 'बी' बाट सुदुरपश्चिम प्रदेश समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । सुदूरपश्चिमले कर्णाली प्रदेशलाई २०–४ र २३–२१ को सोझो सेटमा हरायो । खेलमा पराजित भएपनि कर्णाली उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।
समूह 'सी' बाट नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश क्वाटरफाइनलमा स्थान बनाएको छ । पुलिसले लुम्बिनीलाई २१-९ र २१-११ को सोझो सेटमा पराजित गर्दै विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गर्यो ।
समूह 'डी' बाट गण्डकी प्रदेश समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको छ । उसले उपविजेता बनेको बागमती प्रदेशलाई २१-६ र २१-१४ को सोझो सेटमा पराजित गर्यो ।