काठमाडौं । छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग बैशाखमा आयोजना हुने भएको छ ।
नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै छैटौं संस्करणको क्लब भलिबल लिग बैशाख १८ देखि २४ गतेसम्म हुने जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आयोजना हुने लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहने छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ ।
हरेक टोलीले ३ विदेशी खेलाडी राख्न पाउने छन् ।
यस संस्करणमा पुरस्कार राशीमा वृद्धि गरिएको छ ।
विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।
सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार पाउँदा व्यक्तिगत विधा तर्फ उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । प्रायोजन वापत बैंकले संघलाई १८ लाख प्रदान गर्नेछ ।
संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले सझौता पत्रमा हस्ताक्षर गरे ।