काठमाडौं । ललितपुरको बागमती गाउँपालिकाले स्थानीय सरकार र पत्रकारबिचको फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाले शनिबार आयोजना गरेको प्रतियोगितामा महांकाल गाउँपालिकालाई ८-४ गोल अन्तरले हराउँदै बागमती च्याम्पियन बनेको हो ।
कुमारिपाटीस्थित निर्वाण स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ वटै स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई टोली सहभागी थिए।
पत्रकार महासंघ ललितपुरको ३० औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गरे। उद्घाटनमा मन्त्री गहतराजले जनप्रतिनिधिले गर्नु पर्ने कार्यक्रम महासंघले गरेको आभार व्यक्त गरे।
महालक्ष्मी नगरपालिकाका १ का वडाध्यक्ष वडासदस्य नन्दप्रसाद न्यौपानेले प्रतियोगिता राखेकोमा खुसी लागेर सहभागिता जनाएको बताए ।
महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले प्रतियोगिताले पत्रकार र जनप्रतिनिधिबिच सम्बन्ध बिस्तारलाई खेलसँग पनि जोडेको बताए।
प्रतियोगितामा ललितपुर महानगरपालिका बागमति गाउँपालिका, महांकाल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका, गोदावरी नगरपालिका र पत्रकार महासंघका गरी ८ टिम सहभागी थिए।