धनगढी । त्रिभुवन आर्मी क्लबले मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
धनगढीमा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो।
उपाधिसंगै आर्मीले ४ लाख प्राप्त गरेको छ भने पुलिसले २ लाखमा चित्त बुझाएको छ।
पहिलो र दोस्रो सेट २५–२३ र २५–२० ले जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमायो। चौथो सेट २५–२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो।
यस्तै गण्डकी प्रदेशले विभागिय टोली एपीएफलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। गण्डकीले एपीएफलाई ३–१ को सेटले पराजित गरेको हो। तेस्रो हुने गण्डकीले १ लाख र चौथो स्थान प्राप्त गर्ने एपीएफले ५० हजार नगद प्राप्त गरेका छन्।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आर्मीका मानबहादुर श्रेष्ठ भए । उनले नगद १५ हजार प्राप्त गरे।
यस्तै उदयमान खेलाडी सुदूरपश्चिमका दिनेश चन्द, उत्कृष्ट लिफ्टर आर्मीका हरिहजुर थापा, उत्कृष्ट स्पाइकर नेपाल पुलिस क्लबका रविन चन्द, उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी, उत्कृष्ट डिफेन्सर गण्डकीका राजन दर्लामी, उत्कृष्ट सर्वर नेपाल पुलि क्लबका इमराना मगर र उत्कृष्ट प्रशिक्षक आर्मीका जगतबहादुर सिंह भए। उनीहरुलाई जनही १० हजारसहित पुरस्कृत गरिएको आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले बताए। प्रतियोगितामा तीन विभागिय र ६ प्रदेश गरी ९ टोलीको सहभागिता रहेको थियो।
यस्तै समापन कार्यक्रममा सुदूरपश्चिम घर भएका भलिबल खेलाडीलाई सम्मान गरिएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सिंहका अनुसार नेपाली टोलीको १५ वर्षसम्म कप्तानी गरेका अछामका भरत शाहसहित ८ जनालाई सम्मान गरिएको हो।
सुदूरपश्चिम घर भएरै नेपाली टोलीको प्रतिनिधित्व गरिरहेका भलिबल खेलाडी राजेन्द्र बिष्ट, विनोद चन्द, दिनेश गिरी, विशाल विक, टेकराज अवस्थी, भैरव बम, रविन चन्द र दीपक जोशीलाई पनि सम्मान गरिएको परिषद्ले जनाएको छ।