नेपालगन्ज । आठौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
आयोजकले बुधबार नेपालगन्ज रंगशालास्थित सचिवालयमा आयोजित पत्रकार सम्मेलनबाट प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको हो ।
पिएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा आयोजना हुने प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराए ।
प्रतियोगितामा आयोजक सहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहनेछ । लिगकम नकआउट प्रणालीमा सञ्चालन हुने यस प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी(महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब रहेका छन् ।
प्रतियोगिताको पहिलो दिन नेपाल पुलिसविरुद्ध त्रिभुवन आर्मी क्लबले खेल्नेछ भने अर्को खेल न्यु डायमन्ड एकेडेमी विरुद्ध आयोजक टिम लुम्बिनी युनाइटेड हुनेछ ।
नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।
प्रतियोगितामा आवश्यक पोशाक युक्यान ब्रान्डको आधिकारिक बिक्रेता सिटिएलले उपलब्ध गराएको छ । आयोजक टिम लुम्बिनी युनाइटेडका लागि लिनिङ ब्राण्डको जर्सी सेट र युक्यान ट्रयाकसुट रहेको छ ।