धनगढी । कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार भएका दुई खेलमा गण्डकी र बागमती प्रदेश विजयी भएका छन् ।
पहिलो खेलमा गण्डकीले प्रदेश नम्बर एक लाई १५ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ थालेको उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ४९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । तर ५० रनको लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको प्रदेश नम्बर एक ३४ रनमै अलआउट हुन पुग्यो । उसका अञ्जली शाहले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहरो अङ्क छुन सकेनन् । बलिङ तर्फ गण्डकीकी कुसुम गोदर र ज्योत्सनिका मरासिनीले ३÷३ तथा मनीषा उपाध्याय र निरु घर्तीले २÷२ विकेट लिइन ।
त्यस अघि गण्डकीको ब्याटिङ पनि राम्रो रहन सकेन । उसका पनि कुनै ब्याटरले दोहरो अङ्क छुन सकेनन् । बलिङ तर्फ प्रदेश एककी ज्योति जनवारले ३ विकेट लिएकी थिइन । खेलको प्लेयर अफ दी म्याच कुसुम गोदर भइन ।
आजै भएको दोस्रो खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई १८ रनले पराजित गर्यो ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बागमतीले २० ओभरमा ४ विकेट गुमाएर १ सय २ रनको लक्ष्य प्रस्तुत गर्यो । जवाफी ब्याटिङ थालेको लुम्बिनी १६.४ ओभरमै ८३ रन बनाएर अलआउट हुन पुग्यो । उसका लागि रन्जु श्रेष्ठले २३ र जिज्ञासा थापा तथा शुष्मीता भुसालले १२÷१२ रन बनाइन् । बलिङ तर्फ बागमतीकी सोनी पाख्रिन र लक्ष्मी खड्काले ३÷३ तथा विपीश्ना शाहीले २ र कृष्मा गुरुङ तथा हेलिशा गुरुङले १÷१ विकेट लिइन् ।
त्यस अघि बागमतीका लागि हेलिशा गुरुङले ४ चौकाको मद्दतमा ४८ रनको पारी खेलिन । उसकी सलिना सिलवालले ३१ रन बनाइन । बलिङ तर्फ लुम्बिनीकी आश्मा पुलामी मगरले २ र मनीषा राना मगरले १ विकेट लिइन । खेलको प्लेयर अफ दी म्याच हेलिशा चुनिइन ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले पाँच लाख र दोस्रो हुनेले तीन लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा ७ प्रदेशका सात १९ वर्ष मुनीको महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडीको सहभागिता रहेको छ।