इलाम । साविक विजेता तथा विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं हराईजन राष्ट्रिय बास्केटबल कपमा विजयी सुरुआत गरेको छ ।
धरानमा शनिबार भएको उद्धघाटन खेलमा आयोजक हराईजन क्लब धरानलाई १३१–८६ स्कोरले पराजित गर्दै आर्मीले सुखद सुरुआत गरेको हो ।
खेलको म्यान अफ दि म्याच आर्मीका निश्चल महर्जन भए । उनले सर्वाधिक २७ अंक जोडेका थिए ।
चैत ११ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक हराईजन क्लब, त्रिभुवन आर्मी, बिर्तामोड बास्केटबल क्लब झापा, विराटनगर बास्केटबल एकेडेमी मोरङ, ब्रर्दश क्लब धरान, रोयल बास्केटबल एकेडेमी काठमाडौं, विशाल मिलन केन्द्र काठमाडौं र टाईम्स बास्केटबल क्लब काठमाडौं गरी ८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैया नगद पुरस्कार पाउनेछ भने उपबिजेताले ५५ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा गत वर्षको तुलनामा यो वर्ष नगद पुरस्कार राशिमा ११ हजार थप गरिएको क्लबका अध्यक्ष वसन्त राईले जानकारी दिए ।
अघिल्लो संस्करणमा प्रथम पुरस्कार १ लाख र उपविजेताको पुरस्कार ५० हजार मात्र रहेको थियो । यस्तै सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार पाउनेछन् भने उदयीमान खेलाडीले ५ हजार पाउनेछन् ।
२०६९ सालदेखि सुरु भएको प्रतियोगितामा पहिलो र दोस्रो संस्करणमा आयोजक होराइजन क्लब विजयी भएको थियो भने २०७३ र २०७५ मा इमोर्टल्स क्लब धरान विजयी भएको थियो । यसै गरी २०७७ मा आर्मीले उपाधि हात पारेको थियो ।