काठमाडौं । अष्ट्रेलियन लेजेण्ड शेन वार्नको स्मृतिमा प्रो क्लब च्याम्पियनसिप आयोजना हुने भएको छ ।
आयोजक जोरा इन्टरनेसनलले अष्ट्रेलियन लेग स्पिनर वार्नको स्मृतिमा प्रो क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको हो ।
नेपाल, भारत, बंगलादेश र मलेसियाबाट प्रिमियर क्लबबाट खेल्ने खेलाडीको मिश्रण गर्दै टिम तयार पारिने छ ।
टिमको नाम केहि दिनमा सार्वजनिक गरिने आयोजकले बताएको छ ।
च्याम्पियनसिपमा ८ टिमको सहभागिता रहने छ । च्याम्पियनसिपमा कुल १७ खेलहरु हुने छन् ।
'पूर्व राष्ट्रिय खेलाडीको नाताले म यो विश्वास गर्छु कि घरेलु स्तरमा क्लब क्रिकेट आवश्यक छ' आयोजक जोरा इन्टरनेसनलका एमडी आमिर अख्तरले भनेका छन्, 'एक दशक अघिसम्म क्लब क्रिकेट नयाँ खेलाडी उत्पादनको राम्रो माध्यम थियो तर दुर्भाग्यवस यो फर्म्याट नेपाल क्रिकेटमा संघर्षरत छ । त्यसैले यस फर्म्याटलाई हामीले ब्युताउन खोजेका हौँ ।'
यस्तै नेपाली क्रिकेट काठमाडौंमा मात्र सिमित भएको भन्दै आयोजकले भैरहवामा च्याम्पियनसिप आयोजना गर्न लागेको समेत बताएको छ ।
च्याम्पियनसिप चैत २५ बाट बैशाख ३ गते सम्म भैरहवामा आयोजना हुनेछ ।
यसअघि नेपालमा अष्ट्रेलियन क्रिकेट खेलाडी फिलिप हिउजको स्मृतिमा समेत अष्ट्रेलिया र नेपालक खेलाडीबीच क्रिकेट खेल आयोजना भएको थियो ।
गत हप्ता हृदयघातको कारण वार्नको ५२ वर्षको उमेरमा थाइल्याण्डमा निधन भएको थियो । लेजेण्ड लेग स्पिनर वार्नले ७ सय ८ टेस्ट विकेट लिएका थिए । उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् ।
जोरा इन्टरनेसनलले नेपाली फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग (ईपीएल) आयोजना गर्दै आएको छ ।