काठमाडौं । नेपाल स्क्वास राकेट्स संघको १३ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
स्क्वास राकेट्स संघ अध्यक्ष किशोर महर्जनले कोभिड महामारीका कारण पछिल्ला दुई वर्ष नेपालमा स्क्वासको खासै प्रतियोगिता हुन नसकेको तर आगामी वर्ष स्क्वास सक्रिय हुने भनाई राखेका थिए ।
उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको प्रशिक्षण सञ्चालन गर्ने मात्र नभई अन्य खेलका खेलाडीलाई पनि स्क्वास खेल्न प्रेरित गर्ने बताए ।
अध्यक्ष महर्जनले आगामी वर्षको वार्षिक प्रतिवेदन पनि पेश गरेका थिए । यसैगरी, कोषाध्यक्ष रुपकदास ताम्राकारले यस आर्थिक वर्षको आयव्यय विवरण र आगामी आर्थिक वर्षको अनुमानित वजेट प्रस्तुत गरे ।
स्क्वास संघका सल्लाहकार ध्रुब बहादुर गुरुङले नेपालमा यस खेलको राम्रो पूर्वाधार रहेपनि खेलाडी सङ्ख्या न्यून भएको हुँँदा स्क्वास एकेडेमी स्थापना गरेर स्क्वास खेलाडी उत्पादन गर्नुपर्ने धारणा राखे ।
राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि राजेश श्रेष्ठले साधारण सभाको सफलताको कामना व्यक्त गरे ।