काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत आयोजक न्यूजिल्यान्डले पहिलो जित दर्ता गरेको छ ।
डुनेडिनमा भएको खेलमा न्यूजिल्यान्डले बंगलादेशलाई ९ विकेटले पराजित गरेको हो ।
यस अघि न्यूजिल्यान्ड पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध ३ रनले पराजित भएको थियो ।
बंगलादेशको भने यो लगातार दोस्रो पराजय हो । यस अघि बंगलादेशले दक्षिण अफ्रिकासँग ३२ रनको पराजय भोगेको थियो ।
सोमबार वर्षाका कारण २७ ओभरमात्र खेलाइएको खेलमा न्यूजिल्यान्डले १ सय ४१ रनको लक्ष्य २० ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
न्यूजिल्यान्डलाई जित दिलाउन सुजी बेट्स अविजित ७९ रनको योगदान गरिन् ।
अमेलिया केर ४७ रनमा अविजित रहदा कप्तान सोफी डेभिन १४ रनमा आउट भईन् ।
बंगलादेशका लागि एकमात्र विकेट सलमा खातुनले लिईन् ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २७ ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन जोडेको थियो ।
बंगलादेशका लागि फरगाना हजले सर्वाधिक ५२ रन जोडिन् ।
शमिमा सुल्तान ३३ रनमा आउट भईन् ।
न्यूजिल्यान्डका लागि एमी साटरथ्वेटले सर्वाधिक ३ विकेट हात पारिन् ।
हेली जेनसेन र फ्रान्सेस म्याकीले एक–एक विकेट लिए ।