काठमाडौं । घरेलु टोली भारतले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा शानदार जित हात पारेको छ ।
पञ्जाब क्रिकेट एसोसियसनको मैदानमा भएको खेलमा भारतले श्रीलंकालाई एक इनिङ्स र २ सय २२ रनले पराजित गरेको हो ।
भारतले दुई खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
भारतले टस जितेर पहिले ब्याटिङ गरेर ५ सय ७४ रनमा ८ विकेट गुमाएर इनिङ्स समाप्तीको घोषणा गरेपछि श्रीलंकाले दुबै इनिङ्समा पुनरागमन गर्न सकेन ।
श्रीलंका पहिलो इनिङ्समा १ सय ७४ रनमा आउट भएपछि फलोअनमा परेको थियो ।
तर दोस्रो इनिङ्समा पनि श्रीलंका १ सय ७८ रनमै अलआउट भयो ।
दोस्रो इनिङ्समा श्रीलंकाका लागि निरोशन डिकवेलले अविजित रहदै सर्वाधिक ५१ रनको योगदान गरे ।
भारतका रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले समान चार–चार विकेट लिए ।
मोहम्मद शामीले २ विकेट हात पारे ।
पहिलो इनिङ्समा श्रीलंकाका लागि पाथुम निसांकाले अविजित रहदै सर्वाधिक ६१ रन जोडे ।
भारतका लागि भने रविन्द्र जडेजाले सर्वाधिक ५ विकेट हात पारे ।
जसप्रित बुमराह र रविचन्द्रन आश्विनले समान दुई–दुई विकेट लिए भने मोहम्मद शामीले एक विकेट हात पारे ।
यस अघि भारतले पहिलो इनिङ्समा भने रविन्द्र जडेजाको अविजित १ सय ७५ रनको योगदानमा ५ सय ७४ रन जोडेको थियो ।
रिसभ पन्त ९६ रनमा आउट भए भने रविचन्द्रन आश्विनले ६१ रनको योगदान गरे ।
श्रीलंकाका लागि सुरंगा लकमल, विश्वा फर्नान्डो र लासिथ इम्बुल्डेनियाले समान दुई–दुई विकेट लिए ।
लाहिरु कुमारा र धनन्जय डि सिल्भाले एक–एक विकेट हात पारे ।