इलाम । इलाममा फागुन २९ र ३० गतेबाट प्रथम सूर्योदय मेयरकप राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ ।
सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराते खेल विकास समितिको संयोजनमा प्रतियोगिता आयोजना हुने भएको हो ।
७ वटा प्रदेशको सहभागिता रहने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व इलाम टिमले गर्ने कराते प्रशिक्षक प्रदिप सैजुले जानकारी दिए ।
सूर्योदय नगरपालिका–१० को कान्दुक फुटसल एरिनामा हुने प्रतियोगितामा प्रत्येक प्रदेशबाट एक–एक टिमको सहभागिता रहने छ ।
आयोजक टिमको रुपमा सूर्योदय नगरपालिकाले समेत खेल्ने सैजुले बताए ।
कुमितेतर्फ पुरुषको ५० केजी देखि ६५ केजी माथिको ५ तौल समुहका खेलाडीहरुले सहभागिता जनाउनेछन् ।
त्यसैगरी महिला तर्फ ४५ केजी देखि ६० केजीमाथिको तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।

कुमिते खेलमा सहभागि खेलाडीहरु मध्येबाट एक–एक जनाले एकल कातामा प्रतिस्पर्धा गर्ने इलामका कराते प्रशिक्षक योगेश चाम्लिङले जानकारी दिए ।
करातेको माध्यमबाट खेल पर्यटनको प्रर्वद्धनका लागि प्रतियोगिता आयोजना गरिएको चाम्लिङले बताए ।
प्रतियोगितामा सहभागि प्रदेशका टिमहरुलाई आवास र खानपानको व्यवस्थाको तयारी अन्तिम चरणमा पुगेको सूर्योदय नगर खेलकुद विकास समितिका अध्यक्ष शरण राईले जनाए ।
प्रदेश १ को टिम आगामी फागुन २० गते जिल्ला भरका डोजोबाट छनौट गरिने जनाइएको छ ।
यसअघि २०७५ चैत्र २२ र २३ मा जिल्ला कराते संघको संयोजनमा सूर्योदय नगरपालिकाको श्रीअन्तुमा सातौ अन्तराष्ट्रिय आमन्त्रण कराते प्रतियोगिता सम्पन्न भएको थियो ।
जसमा नेपाल, भारत, भुटान, बंगलादेश र दुवईको टिम सहभागि थिए ।
कोभिड संक्रमणका कारण विगत ३ बर्ष देखि ठप्प बनेको इलामको कराते मेयर कप प्रतियोगिताबाट चलायनमान बन्न लागेको हो ।