टाइम्सलाई हराउँदै आर्मी च्याम्पियन
काठमाडौं । त्रिभुवन आर्मी क्लबले पहिलो संस्करणको लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको फाइनलमा टाइम्सलाई ९०-५८ ले हराएर आर्मी च्याम्पियन बनेको हो ।
टाइम्समाथि सहज जित निकाल्ने क्रममा आर्मीले पहिलो क्वाटरमा २२-१० को अग्रता बनाएको थियो । दोस्रो क्वाटरमा आर्मीले २४-२० को अग्रता बनाउँदा तेस्रो क्वाटरमा १७-१६ को अग्रता बनायो । अन्तिम क्वाटरमा २७-१२ को अग्रता बनाउदै आर्मीले सहज जित निकाल्यो ।
उपाधिसँगै आर्मीले ५० हजार प्राप्त गरेको छ । टाइम्सले २५ हजार प्राप्त गर्यो ।
महिला तर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
बिहीबार नै भएको फाइनलमा रोयल बास्केटबल एकेडेमीलाई ५२-४९ ले हराएर पुलिसले उपाधि जितेको हो ।
उपाधिसँगै पुलिसले ५० हजार प्राप्त गरेको छ । रोयलले २५ हजार प्राप्त गर्यो ।
प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा प्रहरीकी अनुषा मल्ल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार हात पारे ।
पुरुषमा रोयलका सुदीप पौडेल क्षेत्री तथा महिलामा रुपन्देहीकी दीपिका गुरुङ उदीयमान खेलाडी चुनिए । दुवैलाई समान ७ हजार नगदबाट पुरस्कृत गरियो ।
विजेतालाई संघीय सांसद् समेत रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष चतुरानन्द राज वैद्य, आयोजक संघका अध्यक्ष भीससिंह गुरुङ, स्व. लामाका पिता लामा पासाङ शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा १३ र महिलामा ५ टिम सहभागी थिए ।










-1766493993239.jpg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)


