काठमाडौं । नेपाल पुलिस क्लबले पहिलो संस्करणको लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको फाइनलमा रोयल बास्केटबल एकेडेमीलाई ५२-४९ ले हराएर पुलिसले उपाधि जितेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो क्वाटरमा ८-८ को बराबरीमा सकिएको थियो । दोस्रो क्वाटरमा पुलिसले २०-१५ को अग्रता बनायो ।
तेस्रो क्वाटरमा पुलिसले १४-११ को अग्रता बनाएको थियो । चौंथो क्वाटरमा रोयलले १५-१० को अग्रता बनाएपनि पुलिसले जित निकाल्यो ।
पुलिसका लागि अनुषा मल्लले सर्वाधिक १९ अंक जोडिन । रोयलकी रोशनी श्रेष्ठले १४ अंक जोडिन ।
उपाधिसँगै पुलिसले ५० हजार प्राप्त गरेको छ । रोयलले २५ हजार प्राप्त गर्यो ।
पुरुषतर्फको फाइनलमा आज नेपाल आर्मी र टाइम्स भिड्ने छन् ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा १३ र महिलामा ५ टिम सहभागी थिए ।