काठमाडौं । मोफसलको टोली कास्की लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा कास्कीले बीएमकेलाई ९४–९२ को झीनो अन्तरले पराजित गर्दै उपविजेताका रुपमा क्वाटरफाइनलमा पुग्यो ।
कीर्तिपुर नगरपालिका समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगिसकेको छ । कास्कीका पुष्कल छन्त्यालले २१ अंक जोडे । बीएमकेका दीपसन कार्कीले ४४ स्कोर गरेपनि टिमलाई जित दिलाउन सकेनन् ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमै टाइम्स समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । टाइम्सले रोयल बास्केटबल एकेडेमीलाई ८३–७८ ले हरायो । आ–आफ्नो टिमका लागि टाइम्सका सदीश प्रधानले २९ तथा रोयलका निकेश मगरले २७ स्कोर गरे । हारका बावजुद रोयल पनि समूह उपविजेताका हैसियतले क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।
पुरुषमा क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनल कीर्तिपुर र रोयल, नेपाल आर्मी र क्याम्पियन सोलो, टाइम्स र कास्की तथा गोल्डेनगेट र ड्रिम टिमबीच हुने छ ।
महिलाको राउन्ड रोविन लिगमा ललितपुर हाइले रुपन्देहीमाथि सहज जित रच्ने क्रममा ७९–२७ को प्रदर्शन गर्यो । ललितपुरकी मुना महर्जनले १९ अंक जोड्दा रुपन्देहीकी दीपिका गुरुङले १३ अंक आफ्नो नाममा लेखाइन् ।