काठमाडौं । बागमती प्रदेश सरकारले १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्षलाई पदमुक्त गरेको छ ।
नियमावली संशोधनमार्फत प्रदेश सरकारले १३ जिल्लाका खेलकुद विकास समितिका अध्यक्षलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले नियमावली संशोधन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्षको कार्यकाललाई दुई वर्षको हुने व्यवस्था गरेपछि १३ जिल्लाका अध्यक्ष पदमुक्त भएका हुन् ।
प्रदेश खेलकुद विकास नियमावलीमा जिल्ला अध्यक्षको कार्यकाल कति वर्षको हुने भन्ने निश्चित थिएन । नियमावलीले जिल्ला अध्यक्षको कार्यकाल संशोधन भए अनुसारको हुने व्यवस्था गरेको थियो ।
सोही अनुसार मन्त्रीपरिषद्ले पुरानो सरकारको पालामा नियुक्ति पाएका जिल्ला अध्यक्षलाई पदमुक्त हुने गरि नियमावली संशोधन गर्ने निर्णय गरेको हो ।
‘अहिलेका जिल्ला अध्यक्ष जति कार्यकाल राख्दा जान्छन्, त्यही अनुसार संशोधन भएको हो ।’ मन्त्रालय अन्तरगतका एक अधिकारीले भने ।
तत्कालिन नेकपा नेतृत्वको सरकारको पालामा बागमती प्रदेशका १३ मध्य माओवादीबाट ७ र एमालेबाट ६ जना जिल्ला अध्यक्ष सिफारिस भएका थिए ।
नेकपा विभाजित भएपछि माओवादीका दुई जना जिल्ला अध्यक्ष एमालेतिर गएका थिए । त्यसपछि माओवादीका ५ र एमालेका ८ जना जिल्ला अध्यक्ष थिए ।
पदमुक्त भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्षको नामावली :
मकवानपुर : सानुलाल दोङ
सिन्धुली : खड्क रजन मगर
काठमाडौं : अरुण बस्नेत
चितवन : प्रल्हाद प्रधान
धादिङ : प्रतापसिं तामाङ्ग
रसुवा : दावा तामाङ्ग
काभ्रेपलाञ्चोक : मनबिर लामा
नुवाकोट : बुद्धिमान तामाङ
ललितपुर : भरतप्रसाद पराजुली
रामेछाप : राजेश श्रेष्ठ
दोलखा : रोहित खड्का
सिन्धुपाल्चोक : शिव देउवा
भक्तपुर : श्रीभक्त काशिछवा