काठमाडौं । एक खेल अगावै क्वाटरफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार जित हात पार्दै समूह ‘बी’ को विजेता बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो लिगको अन्तिम खेलमा आर्मीले ड्रिम टिमलाई ९८–७८ ले पराजित गर्यो। आर्मीका आयुश सिंहले ३५ अंक जोडे । ड्रिम टिमका सुजन महर्जनले ३३ स्कोर गरे ।
हारका बावजुद ड्रिम टिम पनि उपविजेताका हैसियतले क्वाटरफाइनलमा पुग्न सफल भयो । यो समूहमा रहेको अर्को टोली शंकरदेव क्याम्पसलाई ड्रिम टिम र आर्मीले हराइसकेका छन् । पहिलो क्वाटरमा २८–२१ को अग्रता लिएको आर्मी दोश्रोमा १७–२० ले पछि पर्यो । बाँकी दुई क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको आर्मीले तेश्रोमा २४–२० र चौथोमा २९–१७ अंक जोड्यो ।
पुरुषमै मोफसल टोली कास्कीले विजयी सुरुआत गरेको छ । प्रतिसपर्धात्मक खेलमा कास्कीले एचआईके भिजनलाई ८५–८३ ले हरायो । कास्कीका पुस्कल छन्त्यालले २१ तथा एचआईकेका पासाङ शेर्पाले १९ अंक बटुले ।
पहिलो क्वाटरमा २०–१८ ले अघि रहेको कास्की त्यसपछिका लगातार दुई क्वाटरमा पछि रह्यो । कास्की दोश्रोमा २३–२८ र तेश्रोमा १८–२१ ले पछि थियो । चौथो तथा अन्तिम क्वाटरमा २४–१६ को प्रदर्शन गर्दै कास्कीले जित सुनिश्चित गर्यो ।
महिलाको राउन्ड रोविन लिगमा नेपाल प्रहरी क्लबले ललितपुर हाइमाथि ५७–५३ को जित रच्यो । प्रहरीकी अनुषा मल्ल ठकुरीले २५ अंक जोडिन् । ललितपुर हाइकी सदिना श्रेष्ठले १० स्कोर गरिन् ।
सुरुआतमा ११–१५ ले पछि परेको प्रहरीले दोश्रोमा १३–१० र तेश्रोमा २२–१३ को अग्रता बनायो । चौथो क्वाटर ललितपुरले १५–११ ले पक्षमा पारेपनि जितका लागि पुगेन ।