काठमाडौं । विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्कालाई बिहीबार दोषी ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा पूर्व कप्तान खड्कालाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्कालाई दोषी ठहर गरेको हो ।
दोषी ठहरसँगै अदालतले उनलाई ५ हजार जरिवाना सुनाएको छ ।
अख्तियारले गत माघ १२ गते खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
नेपाल प्रहरीमा जागिर खान पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला विभाग प्रमुख रहेका खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ ।
नेपाली राष्ट्रिय टिमका लागि सर्वाधिक १३ गोलकर्ता खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षक समेत हुन् ।
पूर्व स्ट्राइकर खड्का बिस २०५३ सालको मंसिर १४ गते मध्य क्षेत्रीय तालिम केन्द्र चितवनबाट प्रहरी जवानमा भर्ना भएका थिए ।
यस्तै बिस २०५५ कात्तिक १ गते असईमा भर्ना हुँदा माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेश वाराणसीबाट उत्तीर्ण गरेको आईएको प्रमाण पत्र पेश गरेका थिए ।
तर, खड्काले २०७२ असार २२ गते घरायसी कारण देखाएर राजीनामा दिएका थिए । त्यहि असार ३१ गते उनको राजीनामा स्वीकृत भएको थियो ।