काठमाडौं । पेरिसले २०२४ को ओलम्पिक अहिलेसम्म प्रयास नगरिएको मोडेलमा आयोजना गर्न कटिबद्ध भएको आयोजकले जनाएको छ ।
आयोजक समितिका प्रमुख टोनी एस्टानगुएटले २०२४ को ओलम्पिकका खेलहरु सर्वसाधारणका लागि खुल्ला रहने जनाए ।
खुल्ला रुपमा खेलहरु आयोजना गरेर खेलकुदलाई पेरिसको मुटुमा तथा समर्थकहरुको नजिक ल्याउने महत्वकांक्षा रहेको टोनीको भनाई छ ।
एउटै रुट र एकै दिन ओलम्पिक म्याराथन र सर्वसाधारणका म्याराथन आयोजना गरिने साथै ओलम्पिकको उदघाटन रिभर सेनमा गरिने टोनीले जनाए ।
उदघाटन करिब ६ लाख मानिसले निशुल्क हेर्न पाउनेछन् ।
ओलम्पिकका केही खेलहरु पेरिसको दर्शनीय सम्पदा, सांस्कृतिक र ऐतिहासिक स्थलहरुमा आयोजना गर्ने लक्ष्य समेत रहेको छ ।
ग्रान्ड प्यालेसमा फेन्सिङ र तेक्वान्दो आयोजना गरिने छ भने जुडो र कुस्ती च्याम्प–डे–मार्स एरिनामा आयोजना गरिने टोलीले बताए ।