काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले कुलबहादुर थापालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी अधिकार दिएको छ ।
मन्त्री स्तरीय निर्णय अनुसार खेलकुद मन्त्रालयले थापालाई आर्थिक र प्रशासनीक अधिकार सहित कार्यकारी जिम्मेवारी दिएको हो ।
मन्त्रालयमा नेतृत्व परिवर्तन भएसँगै थापालाई राखेपको प्रशासन प्रमुखको जिम्मेवारीबाट सरुवा गरिएको थियो ।
राखेपमा सदस्य सचिव अनुपस्थित रहेको वर्तमान अवस्थामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्रीपरिषदको निर्णय अनुसार राखेपको वरिष्ठ कर्मचारीको रुपमा थापालाई प्रशासनिक र आर्थिक जिम्मेवारी दिएका हुन् ।
मन्त्री गहतराजले यसअघि मन्त्रालयका सचिव कमलप्रसाद पोख्रेललाई कार्यकारी अधिकार सहित राखेपमा पठाएका थिए । तर जिम्मेवारी सम्हालेको दुई दिन नबित्दै पोख्रेल शिक्षा मन्त्रालयमा सरुवा भएका थिए ।
मन्त्रालयमा नयाँ सह–सचिवको रुपमा लक्ष्मी प्रसाद भट्टराई आएका छन् । तर मन्त्री गहतराजले राखेपका अनुभवी प्रशासकको छवी बनाएका थापालाई जिम्मेवारी दिएको हो ।
सरकार परिवर्तन भएसँगै राखेपमा सदस्य सचिवको विवाद अदालत प्रवेश गरेको थियो । सदस्य सचिवका मुद्धा भएपछि अर्को गर्दै सर्दै गएपछि राखेपको सम्पुर्ण काम कारबाही प्रभावित बनेको थियो ।
सोही कारण खेलकुद मन्त्री विश्वकर्माले मन्त्रीपरिषदबाट नीतिगत निर्णय गराउँदै सदस्य सचिव नहुँदा प्रशासनिक र आर्थिक अधिकार मन्त्रालयका महाशाखा प्रमुख वा परिषदका वरिष्ठ कर्मचारीलाई दिन सकिने ब्यवस्था गरेका थिए ।
राखेपका कार्यकारी थापाले सदस्य सचिव नआउदासम्म राखेपको कार्यकारी अधिकार आफुले प्राप्त गरेको बताए ।
'जिम्मेवारी सदस्य सचिव सरहको छ । सदस्य सचिव आए छाड्न पर्छ ।' थापाले भने, 'पत्र बुझेको छु । भोलि पदबहाली गर्नेछु ।'