काठमाडौं । नेपाल प्रहरी क्लबले लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार सफल सुरुआत गरेको छ ।
प्रहरीले कीर्तिपुर नगरपालिकालाई ७८–२३ ले सहजै पराजित गर्यो । प्रहरीकी समिक्षा न्यौपानेले ११ अंक जोडिन् । कीर्तिपुरकी झरना वज्राचार्यले १३ स्कोर गरिन् ।
प्रहरीले ३२ अंक जोड्दा कीर्तिपुर बल्ल खाता खोल्न सफल भएको थियो । चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको प्रहरीले क्रमशः २१–०, २४–६, १८–१० र १५–७ अंक जोड्यो ।
नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमा टाइम्स बास्केटबल र गोल्डेनगेटले जित निकाले ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा टाइम्सले जेभियर इन्टरनेसनललाई ११७–६४ ले हरायो । टाइम्सका विजय बुर्जाले २४ तथा जेभियरका राहुल नायकले १४ स्कोर गरे ।
दोश्रो क्वाटरमा १३–२० ले पछि परेको टाइम्स बाँकी प्रत्येक क्वाटरमा भने दोब्बर भन्दा बढी अंकले अगाडि रहँदै फराकिलो अन्तरको जित हात पार्न सफल भयो । टाइम्सले पहिलोमा ३५–१६, तेश्रोमा ३१–१५ र चौथोमा ३८–१३ को अग्रता लियो ।
प्रतिस्पर्धात्मक अन्तिम खेलमा गोल्डेनगेटले एनसीसीएसमाथि ७७–७४ को रोमाञ्चक जित रच्यो । गोल्डेनगेटका अभिषेक सिंहले ३२ अंक बटुले । एनसीसीएसका सौगात सिंहले १८ अंक जोडे ।
अन्तिम क्वाटरमा लिएको २६–१७ को अग्रतानै गोल्डेनगेटको जितको आधार बन्यो । पहिलोमा १८–२१ र दोश्रोमा १३–१६ ले पछि परेको गोल्डेनगेट तेश्रोमा २०–२० को बराबरीमा रोकिएको थियो ।