काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले एक सूचना जारी गर्दै सोमबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
शनिबार मछिन्द्र र च्यासलबीचको खेलमा देखिएको मेडिकल विषयमा जानकारी दिन एन्फाले सबै पत्रकारलाई बोलाएको थियो ।
लिगको दशौं चरणको खेलमा शनिबार मछिन्द्र र च्यासल भिडेका थिए । शीर्ष स्थानको मछिन्द्रले प्राप्त गरेको जित मनिष डाँगीको चोटले छायाँमा परेको थियो ।
खेलको दौरान विपक्षी खेलाडीसँग हेड गर्ने क्रममा ठोक्किर लडेका मनिष मैदानमै बेहास भई ढलेका थिए ।
केही महिनाअघि युरोकपमा डेनमार्कका खेलाडी इरिक्सनको घटना सम्झाउने दृष्य दशरथ रंगशालामा देखिएको थियो।
राष्ट्रिय फुटबल टिमका युवा र प्रभावशाली खेलाडी मनिष मैदानमा बेहोस हुँदा रंगशालाको दृष्य निकै कहालीलाग्दो देखिन्थ्यो । दुवै टिमका खेलाडी आत्तिएका थिए । सबैले मेडिकल टिमको सहायता मागेका थिए । तर डक्टर उपलब्ध थिएनन् ।
मैदानमा खेलाडीको ज्यान जोखिममा रहेको अवस्थामा समेत डक्टर नपुगेपछि धेरैले एन्फाको आलोचना गरेका थिए । खेलको दौरान चिकित्सकलाई हाइ अलर्टमा राख्न नसक्नु एन्फा ब्यवस्थापनको कमजोरी भएको भन्दै सबैले आलोचना गरेका थिए ।
सोमबारको पत्रकार सम्मेलनमा यिनै कमजोरी र मनिषको स्वास्थ्य अवस्थाको विषयमा जानकारी प्राप्त गर्ने उद्धेश्यका साथ पत्रकारहरु निर्धारित समयअघिनै दशरथ रंगशाला पुगेका थिए । साढे ३ बजेलाई बोलाईएको पत्रकार सम्मेलन करिब ४ बज्दासम्म सुरु भएन ।
पत्रकार सम्मेलन सुरु हुने तयारीको कुरै छाडौं, एन्फाका कुनै प्रतिनिधि कार्यक्रममा थिएनन् । सम्बन्धित क्लबका केही अधिकारी पत्रकार सम्मेलन हुने हल बाहिर थिए, ती सबै एन्फाका प्रतिनिधि कुरेर बसेका थिए ।
नेपाली खेलकुदको सबैभन्दा ठुलो संस्था एन्फा मिडिया मैत्री नभएको र खराब ब्यवस्थापनका कारण विवादमा आउने गरेको छ । सोमबार त्यही रुप रंगशाला परिसरमा देखियो । पत्रकार सम्मेलन सुरु हुने छाँट नदेखिएपछि सबै पत्रकार सभा हल छाडेर बाहिरिएका थिए ।
गेटमा पुगेका पत्रकारले लिग कमिटिको डिरेक्टर सञ्जिव मिश्रलाई देख्ने मौका पाए । उनी पत्रकार सम्मेलनको हलतर्फ जान आग्रह गरिरहेका थिए । तर सभाहल छाडेर गेटमा पुगेका पत्रकार भने फर्किएनन् र भने, ‘केही सूचना वा जानकारी भए अब मेलमै पठाईदिनु ।’
सोमबार मध्यरातिसम्म न कुनै सुचना एन्फाले सम्प्रेषण गर्यो, न दिउँसोको कमी कमजोरीको क्षमा याचनानै गर्यो ।
फुटबल संघ जस्तो जिम्मेवार संस्था जवाफदेही बन्न पदैन ?